नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टराईका अनुसार देउवा हाल आइसोलेसनमा बसेका छन् ।
प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी थिए । आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गरेका थिए ।
प्रचण्डसँग उक्त बैठकमा सहभागी सत्तारुढ दलका १० भन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखेको छ । प्रचण्ड र नारायणकाजीसहित माओवादीको महाधिवेशनमा सहभागी अधिकांश नेता कार्यकर्ता संक्रमित भएका छन् ।

