नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । ललितपुर महानगरपालिका-४ जवलाखेलस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै झापा, भद्रपुर नगरपालिका-२ देविस्थान बस्ने ६० वर्षीया कुमारी बिक आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार घरबाट निस्किएकोमा घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस्तै कैलाली, बर्दगोरिया गाउँपालिका-३ बुटकुवा बस्ने ७१ वर्षीय लाल सिंह कामी सोही ठाउँस्थित सडकको नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी पर्सा, जगरनाथपुर गाउँपालिका-६ सन्ठी बस्ने नागेश्वर पटेलको छोरा १२ वर्षीय मन्टु पटेल सोही ठाउँस्थित उखुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्सा, वीरगञ्ज महानगरपालिका-१६ कञ्चनजंगा स्कुल नजिक निर्माणाधिन घरको चेपमा सोही महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सरोज कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना खातुन शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यता बाँके, नेपालगंज उपमहानगरपालिका-१८ लगदहवास्थित गहुँबारीमा हाल नाम, थर, वतन नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जा, कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी हाईड्रोपावरको ड्याममा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
