नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।
प्रवक्ता सुनिता नेपालका अनुसार सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाएको छ। त्यस्तै राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।
नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।

