नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज सोमबारबाट आचारसंहिता लागू गरेको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आचारसंहिता संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनमा लागू हुनेछ ।
आयोगले आचारसंहिताको पालना गर्नु आह्वान गरेको छ। उल्लंघन भएमा कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।

