धुवाँ, धुलो र फोहोरमा रूमलिएको काठमाडौँ

अहिले काठमाडौँ उपत्यकाका बासिन्दाहरू धूलोमा रूमलिइरहेका छन् । धुलो र धुवाँसँग उनीहरू अभ्यस्त नै भइसकेको अवस्था छ । कहीं कतै घुम्न गएका वा काममा गएका मानिसहरू आफ्नो निवासमा फकिँदा कपडाभरि धुलो र छातीभरि धुवाँको कोसेली बोकेर आउन बाध्य छन् ।

अहिले उपत्यकाका प्रायः सडक र पेटीहरू विभिन्न बाहनामा भत्काइएका छन् । सामान्यतः काठमाडौंका सडकमा भूमिगत रूपमा खानेपानीको पाइप, ढल आदि राखिएको छ भने बाहिर बिजुली, टेलिफोन, टेलिभिजन केबल र इन्टरनेटका तारहरू टाँगिएका छन् । चक्रपथ क्षेत्रहरूमा धुलो र धुवाँको भण्डार नै पाइन्छ ।



सडक विभागले बाटो बनाउँछ तर फेरि खानेपानी र ढल निर्माण गर्न बाटो भत्काइन्छ । अहिले पनि काठमाडौंका अधिकांश सडकमा भत्काउने र पुर्ने काम जारी छ । अहिले राजधानीबासी धुलो र धुवाँले निसासिरहेका छन् । अहिले पनि कतिपय उपत्यकाका सडक तथा पेटीहरू हिड्नै नहुने अवस्थामा छन् । सडकको बीच भागमा नै खाल्टाखुल्टीहरू छन् जसले आम सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ । जाम, धुलो र खाल्टाखुल्टी भएका सडकका कारण दुर्घटनाहरू पनि बढेका छन् । एउटा संरचना थप्दा अर्को संरचना बिग्रिने वा भत्किने अवस्था छ ।

पछिल्लो समय काठमाडौँको वायु प्रदूषण पनि उच्च रहेको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने नेपालमा प्रतिलाख ३६ जना अर्थात् वर्षमा १० हजार ८० जनाको वायु प्रदूषणजन्य रोगका कारण मृत्यु हुने गरेको छ । वायु प्रदूषणमा पनि ७२ प्रतिशत मानिस मुटुजन्य रोगका कारण मर्ने गरेका छन् । १४ प्रतिशत दम, खोकी र श्वासप्रश्वासजन्य र १४ प्रतिशत फोक्सोलगायतको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइन्छ । अध्ययनअनुसार वायु प्रदूषणका विभिन्न स्रोतमध्ये ३८ प्रतिशत सवारी साधन नै हुन् ।

सडकमा धुलो बढेपछि रातको समयमा काठमाडौँ महानगरपालिकाले सडक पखाल्ने कामको शुरूआत गरेको थियो । तर यो काम अहिले ठप्प भएको छ । त्यसैले पनि धुँवाधुलोले शहरी जीवनलाई सकसपूर्ण बनाएको छ । अव्यवस्थित उद्योग, कलकारखाना, सवारीसाधन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मतको कामले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको निष्कर्ष अनुगमनकर्ताको छ । सरकारी तथ्याङ्कलाई आधार मान्दा काठमाडौं उपत्यकामा २४सै घण्टा सास फेर्नलायक हावा पाइँदैन । नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्याङ्कले पनि देखाएका छन् । पछिल्ला दिनहरूमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धुलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ ।

राजधानीको फोहोर व्यवस्थापनको कुरा सधैं चर्चाको विषय बन्छ । अहिलेका काठमाडौँका सडकमा फोहोरहरू पनि थुप्रिनेक्रम बढ्दो छ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले बिहान सूर्य उदाउँदा काठमाडौँमा फोहोर नहुने उद्घोष गरेका थिए । तर काम भने उनको भनाइविपरीत भएको छ । अहिल त काठमाडौँबासीले सूर्य उदाउनुभन्दा पहिले फोहोरको थुप्रोको दर्शन गरेर मात्र मन्दिरको दर्शन गर्न पाउने अवस्था छ । काठमाडौँलाई स्मार्ट सिटी बनाउने उनको भनाइ पनि केवल भाषणमा सीमित भएको छ ।

स्थानीयबासीको अवरोधका कारण सिसडोल, ओखरपौवामा फोहोर फाल्न नदिएपछि विकल्पको रूपमा रहेको बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नसकेर राजधानीका फोहोर सडकमा थुपिरहेको छ । यसले राजधानीबासीहरू अहिले आजित भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको कार्यले तत्काल निकास पाउने देखिँदैन । यही विषयलाई लिएर काठमाडौंबासी मेयर शाक्यप्रति आक्रोस पोखिरहेका छन् । चोक चोकमा लेख्ने गरिएको ‘साँस्कृतिक सरह, काठमाडौं महानगर’ भन्ने नाराले स्वयम् नारा लेख्न लगाउनेहरूलाई नै गिज्याइरहेको प्रतीत हुन्छ ।

सम्बन्धित समाचार