प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन नेपाल बारले दियो यस्तो आधार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। मंगलबार बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलन गरेर उक्त आग्रह गरेका हुन्। आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पनि पूरा गर्न नसकेको भन्दै श्रेष्ठले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेको दाबी गरे।

प्रधानन्यायधीश राणामाथि निरन्तर प्रश्न उठेर गम्भीर आरोप लाग्दा पनि उनले सरकारी सेवासुविधाको उपयोग गरिरहेको र प्रधानन्यायाधीश पदकै अपमान गरेको श्रेष्ठले बताए। प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ ले दिएको दायित्व पूरा गर्न नसकेको पनि बारले निष्कर्ष निकालेको छ।



प्रधानन्यायाधीश राणाको भूमिकाका कारण समग्र न्यायकर्मीहरूको शीर निहुरेको भन्दै बारले राजीनामा गर्न फेरि भनेको छ। आफूमाथि गम्भीर आरोप लाग्दा पनि सरकारी सेवाको दुरुपयोग गरेको भन्दै राणाको भूमिकाप्रति बारले आपत्ति जनाएको छ। प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिए प्रधानन्यायाधीश पदको नै अपमान हुने बारको विज्ञप्तिमा जनाइएको छ।

प्रधानन्यायाधीशमाथि महाभियोगको विषयमा ह्विप लगाउन नमिल्ने वा नमिल्ने विश्वव्यापी संवैधानिक अभ्यास रहेको र नेपालमा समेत राजनीतिक दल सम्बन्धी ऐनमा सोही व्यवस्था भएकोले प्रत्येक दलका प्रत्येक सांसदहरूले आफ्नो विवेक प्रयोग गर्नसक्ने भन्दै बारले सांसदहरूको ध्यानाकर्षण गराएको छ।

सम्बन्धित समाचार