नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण मात्रै गरेको दोहोर्याएका छन् । पृथ्वीनाराण शाहबारे थापाले यसअघि दिएको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला थापाले सो अभिव्यक्तिको बचाउन गरेका हुन् ।
‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन,’ थापाले भनेका छन्, ‘पहिलो चरण भौगोलिक एकीकरण नै हो । भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन ।’
पृथ्वीनारायण शाहको भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका ‘जनघात’को स्वीकारोक्ति भने नहुने थापाको भनाइ छ । ‘हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ । त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङकन गर्नुपर्छ’, उनले भनेका छन् ।

