नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुँदा बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन् । आज(बुधबार) बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई पराजित गर्दै बिसी निर्वाचित भएका हुन् भने बाजुराको अध्यक्षमा शाही निर्विरोध चयन भएका हुन् ।
कुल ६४९ मत खसेकोमा बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सुर्खेतको उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् ।
त्यसैगरी बाजुराको उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।

