स्वर्ण पदक पाएको मुसाको मृत्यु भएपछि…

विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ । पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो ।

बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा सफल मुसा थियो ।अपोपोले ‘अफ्रिकन जायन्ट पाउच’ प्राजातिको सो मुसाको गत सप्ताहान्तमा मृत्यु भएको जनाएको हो । मागावाको स्वास्थ्य अवस्था राम्रो रहेको र गत साता सामान्य रूपमा खेलेर बसेको बताइएको छ । तर सप्ताहान्तमा कम सक्रिय भएको, धेरै सुतेको र खानेकुरामा अरुचि देखाएको अपोपोले जनाएको छ।तान्जानियामा जन्मिएको मोगावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो ।



क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थहरू रहेका मानिन्छ । विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदान जति वा १५,१७,७११ वर्ग फिट जमिनलाई सफा गर्न सघाएको थियो । एक किलो २०० ग्राम तौल र २८ इन्च लामो मागावा अन्य प्रजातिको मुसाको तुलनामा ठूलो भए पनि विस्फोटक पदार्थमाथि पर्दा पनि विस्फोटन नगराउने तौलको थियो ।

मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने अपोपोले बताएको छ । सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो । अपोपोले ७७ वर्षको इतिहासमा मुसालाई यो पदक दिएको पहिलो पटक थियो । मगावाले गत जुनदेखि वृद्ध उमेरका कारण काम गर्न छोडेको थियो । अपोपोले हिरोर्‍याट भनिने यस्ता मुसालाई सन् १९९० को दशकदेखि नै तालिम दिन थालेको हो ।बीबीसी

सम्बन्धित समाचार