नारायणहिटी प्रकरण: समितिका निर्देशक दाहालमाथि छानबिन गर्न अख्तियार र प्रहरीलाई पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्र लेखेको छ। मन्त्री प्रेम आलेले मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न दुवै निकायलाई पत्र पठाएको बताए।

समितिले बतास समूहलाई ठेक्का दिने कार्यमा निर्देशक दाहालको संलग्नता पुष्टि गरेको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको उनले बताए।दाहालले नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिनमा क्याफ्टेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएका थिए। बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आएको थियो।



सञ्चार माध्यमले उक्त विवादित विषय बाहिर ल्याएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। समितिले छानबिनका क्रममा दाहालले अधिकारभन्दा बढी विषय समावेश गरी सम्झौता गरेको निष्कर्ष निकालेको थियो। बतास समूहले सम्झौताभन्दा बढी करिब १४ रोपनी जमिनमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षणको जिम्मेवारी पूरा नगरेको छानबिन समितिको ठहर थियो।

सम्बन्धित समाचार