उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आदेशले रोक्ला कोरोनाको बढ्दो सङ्क्रमण ?

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेसँगै काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले ‘स्मार्ट लकडाउन’ गर्ने घोषणा गरेको थियो । सबै क्षेत्र ठप्प नपारी कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा ‘स्मार्ट लकडाउन’ हो ।

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण) लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) ले गत मंगलबार १८ बुँदे आदेश जारी गरेको थियो । पछिल्लो हप्तादेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले स्मार्ट लकडाउनको अवधराणा अघि सारेका हुन् ।



नेपालमा संक्रमतिको संख्या बढिरहेको छ । गत आइतबार ९ सय भन्दा बढी संक्रमित रहेका थिए । तर हिजो बुधबार संक्रमितको संख्या ३ हजार काटेको छ । हिजोमात्रै ३ हजार ७५ जना कोरोना संक्रमित थपिए । यस्तो अवस्थामा स्मार्ट लकडाउनको अवधारणाले मात्र नेपालमा कोरोना रोकथामको प्रयासका सन्दर्भमा त्यति उपयोगी नहुन सक्छ कि भन्ने लाग्दछ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । यो नियम मंगलबार राति १२ बजेदेखि लागू भएको छ ।

त्यस्तै प्रशासनले २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड हुनुपर्ने गरी आदेश जारी गरेको छ । कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेसँगै अस्पताललाई तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । त्यस्तै अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ भने सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रुहरू नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

यस्तै, भिडभाड हुने कार्यक्रम, सभा जुलुस, जात्रा, महोत्सव आदि जस्ता क्रियाकलाप गर्न निषेध गरिएको छ । यदि प्रशासनले जारी गरेको आदेश अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ । यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।

ओमिक्रोन भेरियन्टको जोखिम पनि उच्च
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखा परेसँगै यस विषयमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । यसअघिको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट बढी सङ्क्रामक रहेको जनाइएको छ । अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताइन् । अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो, उनले भनेकी छन् ।

ओमिक्रोनबारे बच्न कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्डहरू अर्थात् भीडभाड भएको ठाउँमा नजाने, सेनिटाइजरको प्रयोग गर्ने र साबुनपानीले पटक पटक हात धुने जस्ता कार्य गर्नु पर्दछ । यस्तै सही तरिकाले मास्कको प्रयोग गर्ने र भौतिक दूरीलाई पालना गर्नाले पनि यस सांघातिक रोगबाट बच्न सकिन्छ ।

केही दिनअघि एक हजार एक सय ४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएको र ती नेगेटिभ देखिएकाको अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ ।

यसैगरी ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष, हाई डिपेडेन्सी युनिट, भेन्टिलेटर, आइसोलेशन सेन्टर आदिलाई तयारी अवस्थामा राख्न र स्वास्थ्यकर्मीलाई पनि सोही अनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन भाइरसको संक्रमण भएमा घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने, बढी हाँछ्यौं आउने, हल्का ज्वरो आउने, धेरै रूघा लाग्ने जस्ता लक्षणहरू देखिन सक्छन् ।

सम्बन्धित समाचार