नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन्।
आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उनले पहिलो चरणको चुनावमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताए ।
नेता सिंहले भने, ‘मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेन्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ ।’

