नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।

निर्वाचन आयोगको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रियसभा निर्वाचन, मतदाता नमावली संकलन र स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । आज (शुक्रबार) निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।
बैठकमा आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले माघ पहिलो सातासम्म मिति तोक्नुपर्ने बताएको छ । वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले माघ पहिलो हप्ताभित्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।
आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको थियो । बैठकमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श गरी ३१ वैशाख २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्यकाल पूरा हुन लागेको जानकारी दिएको हो । बैठकमा आयोगलाई राजनीतिक दलले विभिन्न विषयमा सुझाव दिएका छन् । बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए ।
नेपाली काँग्रेस नेता रमेश लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको भन्दै मतदानस्थल र मतदान केन्द्र बढाउनुपर्ने सुझाव दिए । त्यस्तै एमाले नेता विष्णु रिमालले स्थानीय तहको निर्वाचन वैशाखमा होस् भन्ने एमालेको चाहना रहेको बताए ।
त्यस्तै आयोगको प्रस्तुतिमा मतदाता नामावली संकलनमा भएको प्रगतिबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराएका थिए । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । त्यसको तयारीको विषयमासमेत आयोगले जानकारी गराएको प्रवक्ता पौडेलले जानकारी दिए । यता निर्वाचन आयोगले भने निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ ।

