नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।
हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानूनअनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड—१९को प्रकोप बढेको कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सका माध्यमबाट संचालन गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनसहित सोही आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको जनाइएको छ ।
यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको पनि जनाइएको छ ।
उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।