वीरेन्द्रनगरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ । ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् । बन्द कोठा भित्र यसरी कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा अक्सिजनको कमी भइ निसासिएर ज्यान जाने जोखिम धेरै हुन्छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउनु नै उत्तम हुने विज्ञ बताउँछन् ।

सम्बन्धित समाचार