
देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनुका साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबारप्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको हो ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
यसैगरी राति पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने र देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
