
प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । आज (सोमबार) प्रदेश नम्बर २ को राजधानीका लागि मतदान भएको थियो ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको थियो । आजको मतदानमा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।
प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग सीमाना कायम हुनेछ । वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि पेश भएको थियो ।
आइतबार पनि प्रदेश सभामा प्रदेश २ को स्थायी राजधानीको विषयमा छलफल भएको थियो । यसअघि प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका थिए भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका थिए । त्यस्तै कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका थिए ।
