
सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन समन्वय समितिको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ९ बजे बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने बारे निर्णय भएको थियो।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको थियो। आजको बैठकमा आसन्न निर्वाचन एवं सामसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ ।।
