एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने विज्ञको चेतावनी, सरकारको तयारी शुन्य

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५र६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताए। यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उनको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।

सावधानी नअपनाए दैनिक २०–२२ हजारसम्म नयाँ सङ्क्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । यस्तै, स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुने क्रम बढेकाले केही ठाउँमा स्वास्थ्यकर्मीकै अभाव समेत हुन थालेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढिरहे पनि पालिका, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएका छैनन् ।

माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउछन् । कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउनु र भौतिक दूरी कायम गर्नु नै हो । यो सँगै बेला बेलामा साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।

सम्बन्धित समाचार