
सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन वैशाखमै गर्ने निर्णय गरेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार वैशाखमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका हुन् । बैठकमा सबै दलका नेताहरू स्थानीय निर्वाचन गर्न सहमत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै केही विषयमा छलफल गर्न अर्को बैठक बिहीबार बस्ने निर्णय भएको बालुवाटार स्रोतले बतायो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रजनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बैठकमा उपस्थित नभएको कारण स्थानीय तहको चुनावको मितिबारे भने निर्णय नभएको माओवादी नेता देव गुरुङले बताए । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । यसअघि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने बारे निर्णय भएको थियो।
