बैशाखमा संसदीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा रामचन्द्र र माधवको समर्थन

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा बैशाखमा स्थानीय निर्वाचनभन्दा संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने भएको छ । गठबन्धनका शीर्ष नेताहरु बैशाखमा संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा रहेकोले गठबन्धनको बैठकमा यो विषयले स्थान पाउने भएको हाे । दलहरुबीच सहमति जुटेमा एक-दुई दिनमै संसदीय निर्वाचनको मिति तोक्ने सरकारको तयारी छ ।

गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रुपमै स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

गठबन्धनका संयोजक पौडेलले संसद निरन्तर अवरोध भइरहँदा राज्य नै असफल हुन लागेको भन्दै ५ वर्ष चल्नसक्ने संसद निर्माण गर्न पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने औंल्याएका छन् । उनले देशलाई निकास दिन ताजा जनादेशमा जानपर्नेमा जोड दिएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि बैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका छन् । मंगलबारकै बैठकमा प्रचण्डले स्थानीय निर्वाचन मंसिरमा गर्नेगरी संसदीय निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थियो ।

सो बैठकमा नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकोले थप निर्णय हुन सकेको थिएन । मंगलबारको बैठकपछि प्रतिक्रिया दिने क्रममा गठबन्धनका नेताहरुले संविधान अनुसार नै अगाडि बढ्ने सहमति भएको बताएका थिए ।

सम्बन्धित समाचार