नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जना र छ हजार ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २८६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६४९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १८ हजार ८०९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ । जसमा ५५ हजार ८३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८६ संक्रमित आईसीयूमा र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ८७ हजार ७६९ र एन्टिजेन विधिबाट १ लाख ८ हजार ११९ जना पुगेको छ ।