नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा-हिमपात भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले भनाइ छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। भोलिबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
