नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस्तै भोलि मंगलबार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस्तै मंगलबार राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। बुलेटिनअनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
