नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का २ लाख ५५ हजार नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या ५० हजारभन्दा धेरैले घटेको हो।
यसअघि सोमबार पनि भारतमा नयाँ संक्रमितको संख्या केहीले घटेको थियो। ओमिक्रोन भेरियन्टसहितको तेस्रो लहर छिटै नै अन्त्य हुने केही अध्ययनहरुले देखाएका छन्। विशेषज्ञहरूले भने भारतको नयाँ लहर अझै उत्कर्षमा नपुगेको भन्दै सतर्क रहन चेतावनी दिँदै आएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ६१४ जनाको मृत्यु भएको छ। भारतमा समग्र सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजारभन्दा धेरै छ ।