काठमाडौं उपत्यकामा जारी जोर-बिजोर प्रणाली हटाउने तयारी

कोरोना सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिडभाड कम गर्न अनुरोध गरे पनि यात्रु भने कोचाकोच गरी यात्रा गर्न बाध्य छन् । सिटको क्षमताभन्दा धेरै चढाउने र नियम उल्लङ्घन गर्ने गाडी दैनिक रुपमा कारबाहीमा परेका छन् ।



गृह मन्त्रालयले जोर-बिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले सङ्क्रमण रोकथामका लागि जोर-बिजोर लागू गरिएको तर भिडभाड र चहलपहल अपेक्षा अनुसार नरोकिएको बताए ।

जोर-बिजोर प्रणाली हटाउनबारे काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिएका छन् । गृह मन्त्रालयले आज भोलि नै यसबारे निर्णय लिने तयारी गरेको छ ।

सम्बन्धित समाचार