नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ माघ ।

बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोषको पुरस्कार प्राप्त गरेको छ। पाटेबाघको संख्या दोब्बर बनाएपछि निकुञ्जले डब्ल्युडब्ल्युएफको पुरस्कार जितेको हो। बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि डब्ल्युडब्ल्युएफबाट पुरस्कार पाएको हो।
बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिनेछ। खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ। यो पुरस्कार यसै वर्ष सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक शहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहमा प्रदान गरिने डब्ल्युडब्ल्युएफले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा ९० वटा पुगेको छ।
