नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक सबारी साधनमा लागू भएको जोरबिजोर प्रणालीको तीव्र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिँदा सर्बसाधारणले सास्ती खेप्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सूचना जारी गर्दै गए राति १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।
कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबारदेखि उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेको थियो। उक्त निर्णय व्यावहारिक र कोभिड संक्रमण नियन्त्रणमा सहयोगी नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसलाई हटाएको हो। यद्दपी नेपालमा कोरोना संक्रमणदर भने बढिरहेको छ ।
