
काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन आदर्शचोक डेरा गरी बस्ने सोलुखुम्बु साबिक छेस्काम गाविस-७ घर भएका ३६ वर्षीय भिम कुलुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्थित मानव सेवा आश्रममा बस्ने हाल एकिन नाम, थर नखुलेकी चौधरी आमा बताउने करिब ७० वर्षीया महिला सोही आश्रममा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै झापा, भद्रपुर नगरपालिका-८ बस्ने ६५ वर्षीय श्री शर्मा सोही ठाउँस्थित रेडक्रसको भवनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१३ गैरीस्थित भित्री सडकमा सोही ठाउँ बस्ने ५२ वर्षीय माधव प्रसाद गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । उक्त स्थानमा ना.२ ह ६१७३ नम्बरको अटो सडकको छेउमा वेवारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोको अगाडिको भागमा क्षति भएको र अटो रहेको स्थान नजिकै अटोका चालक गिरीको शव फेला पारेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१४ चिनीमिल आवास क्षेत्रभित्र पानी ट्याङकी मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
