पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले माग गरेको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले यस्तो माग गरेका हुन् ।

नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले बढाएको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको निगमले जनाएको छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ र मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरिएको छ ।



अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रति किलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी एक हजार ९५ डलर कायम गरिएको निगमले जनाएको छ ।क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धिको आफ्नो सङ्गठनले घोर विरोध एवम् निन्दा गर्ने उल्लेख छ । त्यस्तै क्रान्तिकारीले मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रने बताएको छ ।

सम्बन्धित समाचार