नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

स्थानीय निर्वाचनको मिति तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ। गत मंगलबार देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ। यस्तै हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाडले सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग उनकै निवासमा पुगेर निर्वाचनका बारेमा परामर्श गरेका थिए।
खाडले हिजो अपरान्ह चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा स्थानीय तह निर्वाचनका लागि सुरक्षा खाका प्रस्तुत गर्न निर्देशन दिइसकेका छन्। सरकार एकै चरणमा स्थानीय निर्वाचन गर्ने तयारीमा छ ।
