नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । तनहुँ, व्यास नगरपालिका-५ पतेनि ठूलो घुम्तीस्थित घरमा डेरा गरी बस्ने कास्की घर भएका ६५ वर्षीय दोर्जे लामा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाट डेरा गरी बस्ने सुरज दाहालको कोठामा पाहुना आएका ताप्लेजुङ थेवाङ घर भएका ३५ बर्षीय देवेन्द्र दाहाल उक्त कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नुवाकोट, किस्पाङ गाउँपालिका-५ जिरो प्वाईटस्थित त्रिशुली खोलाको किनारामा हाल नाम, थर, वतन खुल्न नसकेका अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको छ ।
त्यसैगरी इलाम, सूर्योदय नगरपालिका-३ बस्ने ५५ वर्षीया कुमारी तामाङ आफ्नै घर नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।यता सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोट बस्ने ३५ वर्षीय कालु भन्ने बिराज लामा आफ्नो घर नजिक तोरी बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलाली, भजनी नगरपालिका-९ पहलवान बस्ने ४७ वर्षीय शंकर चौधरी सोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छ्न् । त्यस्तै सिन्धुली, गोलन्जोर गाउँपालिका-३ बसेरीस्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
