सुजाता कोइरालालाई मन्त्री बनाउँदै प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसकी नेता सुजाता कोइराला मन्त्री बन्ने भएकी छन्। कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने अफर गरेका छन्। तर, रक्षा मन्त्रालय समेत खाली भएकाले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा सुजाताले आफू निकटसँग छलफल गरिरहेकी जनाइएको छ।

प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्दा उद्योग वाणिज्य तथा आपूर्ति गजेन्द्र हमाललाई बनाएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएपछि हमालले असोज २४ मा मन्त्री पदबाट राजीनामा दिएका थिए।

यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रक्षामन्त्री मीनेन्द्र रिजालले पुस १ मा राजीनामा दिएका थिए। दुवै मन्त्रालय मन्त्रीविहीन रहँदै आएका थिए। कोइराला माधव नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा उपप्रधान तथा परराष्ट्र मन्त्री बनेयता सत्ताबाहिर थिइन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई सभापतिमा शमर्थन गरेका नेता प्रकाशमान सिंहको समूहबाट कोइराला सरकारमा सहभागी हुन लागेकी हुन्।

सम्बन्धित समाचार