नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।

मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले त्रिभुवन राजपथ अवरुद्ध भएको छ । आज (शुक्रबार) भएको हिमपातले गर्दा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको हो ।
गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान २ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो ।
मौसम सुधार भएमा आज दिउँसोसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ भएको उनले बताए ।
