नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।

कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन्। संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो।
काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि लागू हुने गरी निजी सवारी साधन र ट्याक्सीमा सीमित गरिएको थियो। सार्वजनिक यातायातका साधनमा लागू गरिएको जोरबिजोर भने हटाइएको थियो। एक साताका लागि लागू गरिएको सो व्यवस्था शनिबार मध्यरातसम्म कायम रहनेछ।
‘संक्रमण निरन्तर घट्दै गएको छ। आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछौं। सीसीएमसीसीको बैठकसमेत सोही दिन बस्ने जानकारी पाएका छौं। आइतबारको बैठकबाट जोरबिजोर हटाउने तयारीमा हामी लागेका छौं’, एक प्रमुख जिल्ला अधिकारीले भने। उनले काठमाडौं उपत्यकामा संक्रमण निकै कम भइसकेको र सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको बताए।
