नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
दुर्घटनामा गौमुखी-६ का ३९ वर्षीय वसन्त खड्का, ४० वर्षीया वसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको मृत्यु भएको छ। करिब २० वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डीएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको डीएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए । घटनास्थल इलाका प्रहरी कार्यालयबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।
