समयमै निर्वाचन नभए सरकारविरुद्ध आन्दोलन गर्छौंः नेता पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन्।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने श्रीमान्‌हरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘गठबन्धनकारी सरकार छ। यस्तो सरकार जुन सरकार गठन गर्न पार्लियामेन्टले चिनेन्, देखेन, थाहा पाएन। श्रीमानहरुले बनाए। श्रीमान्हरुले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उलंघन गर्ने धृष्टता गर्दैछ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चार माध्यामहरुले पनि विरोध गर्नुपर्ने बताए। उनले पार्टी निकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्याउने काममा केन्द्रित हुन आग्रह गरे।

सम्बन्धित समाचार