नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको छ । ओली साँझ सवा ६ बजेतिर शीतल निवास छिरेका थिए ।
एमालेले संसद् बैठकमा एकोहोरो अवरोध गरिरहेका बेला, एमसीसी विवाद चर्किएका बेला तथा स्थानीय तहको चुनाव गर्ने तयारी भइरहेका बेला एमाले अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नु अर्थपूर्ण मानिएको छ।
ओलीसँगको भेटमा पनि निर्वाचन र एमसीसीका बारेमा छलफल भएको बताइन्छ । राष्ट्रपति भण्डारीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समयमै निर्वाचन गराउन ताकेता गरेकी थिइन् ।
