नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार) मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै १४ सदस्यीय मन्त्रिमण्डल बनाईएको हो । यसैबीच नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेसबाट प्रतापप्रकाश हाङगाम,ओम प्रकाश सरावगी, शेखर चन्द्र थापा, नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर नेकपा एकीकृत समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे, खिनु लङ्वा लिम्बु र राजन राई ले मन्त्रीको शपथ लिँदा लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णु तुम्बाहम्फेले राज्यमन्त्रीको शपथ लिएका छन् ।
नेपाली कांग्रेसबाट हाङ्गामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र थापालाई वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट राईलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीबाट घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउँदा, लिम्बूले पर्यटन तथा संस्कृति र राई सामाजिक विकास मन्त्री बनेका छन् ।
यसअघि इन्द्रबहादुर आङ, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री बनएका थिए । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णु तुम्बाहम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।
