नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच फोनवार्ता भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि दुई नेताबीच फोनवार्ता भएको हो ।
वार्तामा प्रचण्डले प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएका छन् । उनले एमसीसी पठाएको पत्र किन सार्वजनिक गरेको भन्दै देउवालाई प्रश्न गरेका छन् । ‘तपाईं र मबीच तत्काल एमसीसी पारित नगर्ने सहमति भएको थियो, तर अहिले आएर यो पत्र सार्वजनिक गर्नुको कारण के हो ?’ भन्दै प्रचण्डले प्रश्न गरेका छन् । तर, देउवाले आफूले पत्र सार्वजनिक नगरेको बताए । पत्र कसरी सार्वजनिक भयो भन्ने विषयमा आफू अनभिज्ञ रहेको देउवाको जवाफ थियो ।
त्यस्तै देउवाले माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठसँग पनि फोन वार्ता गरेका हुन् । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख गरिएको छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठाएको खुलाएको हो ।
