नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

भारतकी गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गरेकी छिन्। आज (आइतबार) एक ट्विट गर्दै राष्ट्रपति भण्डारीले गायिका मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले दु:खी बनाएको बताएकी छिन् ।
मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो । ९२ वर्षीया मंगेस्करले ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन् ।
राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दु:खी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
राष्ट्रपति भण्डारीको ट्विट
