थापाले संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ भनेपछि…

नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले सबभन्दा ठूलाे संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् ।

थापाले नेपाललाई प्रचण्ड र माधव नेपालले चौतर्फी संकटमा फसाउने काम गरिरहेको टिप्पणी गरेका छन् । त्यस्तै उनले बाघसँग खेल्दाकाे परिणाम/दुष्परिणामकाे निगरानीमा प्रचण्ड परिसकेको भन्दै यसबाट उम्किन सायदै नसक्ने बताएका छन् । ‘जसरी अरूण तेस्राेबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव कु. नेपालकाे अनाडी चिट्ठीले गरेकाे थियाे, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चाैतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव कु. नेपाललगायतको झुन्डले गरिरहेकाे छ’ थापाको स्टाटसमा उल्लेख छ ।



सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेको स्टाटस जस्ताको त्यस्तै :

हिजाे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पाेखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा गंभीर छलफल भयाे।

यस छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेलहरू थिएनन्। अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुबै डुंगामा खुट्टा टेकिरहेका नाैटंकीवाजहरूकाे पनि उपस्थिति थिएन।

कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएकाे अनुदान विरूद्द आन्दोलन, कथित संशाेधन र विराेधकाे पाखण्डीपनकाे भ्रमका पर्दा पनि क्रमश; च्यातचुत पारिदैछन्। तिनले भविष्यमा जवाफ दिन सक्लान्- अमेरिका वा अरू दातृराष्ट्र र निकायकाे अनुदान सहयाेगलाई यसरी गिजाेलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविराेधी कार्य किन गरेकाे त? जसरी अरूण तेस्राेबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव कु. नेपालकाे अनाडी चिठीले गरेकाे थियाे, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चाैतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव कु. नेपाललगायतको झुन्डले गरिरहेकाे छ। यस्तै पाखण्डीहरू नेपाल राष्ट्रलाई उत्तर काेरियाकाे हविगतमा विश्व समुदायबाट अलगथलग र एक्लाे बनाउन सक्रिय छन् ! तर, हेक्का रहाेस् – यसपछिकाे सबभन्दा ठूलाे संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ, उनले नेपाली जनतालाई बेवकुफ बनाएजस्ताे चालबाजी र साैदाबाजी दुनियाँसँग नगरून् !

साँच्चैकाे बाघसँग खेल्दाकाे परिणाम/दुष्परिणामकाे निगरानीमा उनी परिसकेका छन् हाेला र अब उम्किन सायदै सक्नेछन्!

थापाले लेखेको स्टाटस :

थापाले लेखेको स्टाटस

सम्बन्धित समाचार