नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को जारी बैठकले स्थानीय निर्वाचनको ३० वैशाखमा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो । त्यस्तै आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति पनि सिफारिस गरेको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।
त्यस्तै आजको मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगलाई आगामी वैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर प्रश्न गरेको थियो । सरकारले आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई वैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर प्रश्न गरेको हो । वैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ भनेर आयोगका पदाधिकारीले जवाफ दिएका थिए ।

