नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो वैशाख ३० मा स्थानी निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो सकारात्मक कुरा रहेको बताउँदै संविधान र कानुन अनुरुप काम हुँदा पनि खुशी हुनुपर्ने अवस्था आएको प्रतिक्रिया दिए।
निर्वाचनलाई सकारात्मक रुपमा लिएर सफलताका साथ सम्पन्न गर्न आफूहरुले सरकारलाई सघाउने पोखरेलले बताए। एमाले पहिलेदेखि नै निर्वाचनको पक्षमा रहेको बताउँदै उनले सरकार चुनाव घोषणा गर्न बाध्य भएको उल्लेख गरे।
यता निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक विवरण माग गर्ने विषयमा समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा विवरण माग गर्न पत्राचार गरेको हो।

