नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो।
सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयोगले जनाएको छ। निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ।
आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ। साथै आयोगले संपूर्ण जनशक्ति स्थानीय निर्वाचनमा लगाउने बताएको छ ।

