मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरस्थित गुरुजजुर माविको नालीमा सोही उपमहानगरपालिका-४ सिमरा बस्ने ६२ वर्षीय छबिलाल रोका सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै जाजरकोट, कुसे गाउँपालिका-५ स्थित सल्ले सामुदायिक वनमा सोही गाउँपालिका- ५ खुर्पा बस्ने ६१ वर्षीय शेर बहादुर बिक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-९ बस्ने ५२ वर्षीय बिने बटाला सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका-९ राडी बजारस्थित विवाहको भोज खान गएका उनी विवाह भएको घर पछाडी त्रिपालमा एक्लै सुतेकोमा उनको शव फेला परेको हो ।



त्यसैगरी खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित शौचालयभित्र सोही ठाउँ बस्ने ३५ वर्षीय कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-२१ फुस्रे खोलाको किनार नजिकै चौरमा टेण्ट टाँगेर बस्ने ग.१ त ४८१० नम्बरको ट्याक्टरका सहचालक स्याङ्जा पुतली बजार नगरपालिका-५ घर भएका १७ वर्षीय बिशाल भुजेल टेण्टभित्रै सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी महोत्तरी, बलवा नगरपालिका-१ बन्चौरीस्थित राम जानकी मन्दिरको जग्गामा विगत केही दिनदेखि बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी करिब ८० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता सर्लाही, पर्सा गाउँपालिका-२ संग्रामपुरस्थित माछा पोखरीमा महोत्तरी बलबा नगरपालिका-२ बस्ने २७ वर्षीय उदय सदा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कालिकोट, महावै गाउँपालिका-४ डिल्लीकोट बस्ने ५८ वर्षीय पृथी रानामगर महावै लेकको लसुनढुंगामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार