नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नु गलत भएको बताएका छन् । उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू ‘सर्प्राइज’ भएको बताए ।
पार्टीभित्र थापाको मागको विषयमा छलफल भइसकेको बेला थापाले यस्तो निर्णय लिनु गलत भएको पाठकले बताए । त्यस्तै पाठकले थापाले आफूसँग कुनै सरसल्लाह समेत नगरी पार्टीबाट अलग हुने निर्णय गरेको आरोप लगाए । उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन ।’ उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे ।
गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए । लिङ्देनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताए ।

