नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर नागरिकलाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गर्नुपरेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण नागरिक मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई अघि बढाउन सरकारसँग माग गरे । एमाले नेता एवम् सांसद डा भीम रावलले नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराए।
कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए। नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गरे।

