नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताएका छन् । नेता गुरुङले एमसीसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उनले बताए।
एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गरे । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उनले बताए ।
नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाका निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै ती मुद्दाहरू यथावत् रहेकाले स्थानीय तहको चुनावमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए । यद्यपि स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उनले स्पष्ट पारे ।
नेता गुरुङले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले वैशाख ३० गते चुनाव गर्दा पनि कानुनी जटिलता हुन सक्ने बताए।

