नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ माघ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ। आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन्। त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छन्। स्थानीय निर्वाचन लक्षित दुई दिने प्रशिक्षण कार्यक्रमा सातै प्रदेशका राजधानी र मुख्य सहरमा हुनेछ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन्।
उद्घाटन कार्यक्रममा केन्द्रीय नेताहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट सहभागी हुनेछन्। प्रशिक्षणमा प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी पनि सहभागी हुनेछन्। एमालेले स्थानीय तहमा पार्टीका पाँच वर्षका उपलब्धी र अनुभवहरूबारे पनि कुरा गर्ने भएको छ। त्यसैगरी स्थानीय तह निर्वाचनको तयारी तथा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुबारे पनि नेताहरुले प्रशिक्षण दिने भएका छन्।

